
फाइल तस्बिर ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा भइरहेको विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा बोल्दै उनले विद्युत् आपूर्ति अवरुद्ध हुँदा देशभरका दर्जनौं उद्योग बन्द हुन पुगेको र हजारौँ रोजगारी संकटमा परेको बताए।
‘लाइन काटिँदा राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ,’ उनले भने, ‘औद्योगिक उत्पादन, निर्यात र समग्र अर्थतन्त्रमा यसको नकारात्मक असर परेको छ। समस्या वार्ता र संवादमार्फत समाधान हुनुपर्छ।’
ढकालले उद्योगी व्यवसायीको मनोबल उच्च राख्न नसके लगानी पलायन हुने खतरा रहेको उल्लेख गर्दै औद्योगिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरे। ‘निजी क्षेत्र हरेक आन्दोलनको समयमा आक्रमणको सिकार हुनु दुःखद् हो,’ उनले भने, ‘निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक छ।’
उनले औद्योगिक सुरक्षा, क्षतिग्रस्त उद्योग पुनर्निर्माण र अनुकूल व्यवसायिक वातावरण बनाउन सरकारको निर्णय सराहनीय भए पनि कार्यान्वयन ढिलाइ हुने प्रवृत्तिमा सुधार गर्नुपर्नेमा जोड दिए। महासंघले जिल्लास्तरमा उद्योग व्यवसायी र सुरक्षा निकायबीच समन्वयका लागि बैठक गर्ने सरकारी निर्णयको स्वागत गरेको पनि अध्यक्ष ढकालले बताए।