काठमाडौं, कात्तिक १५ :

नेपाली कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा पार्टीका पदाधिकारीबीच सहमति जुट्न सकेको छैन। शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकले निर्वाचनअघि या पछि महाधिवेशन गर्ने विषयमा देखा परेको विवाद समाधान गर्न सकेन।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकको निष्कर्षको बारेमा जानकारी दिँदै भने, ‘पदाधिकारी बैठकले समान धारणा बनाउन सकेन, तर हामी केन्द्रीय कार्यसमितिमा चलिरहेको छलफललाई सर्वसम्मत निर्णयमा पुर्याउने प्रयासमा छौं। सहमति नजिक पुगेको अनुभव मैले गरेको छु, र केन्द्रीय समितिले एउटै दृष्टिकोणबाट निर्णय गर्ने विश्वास छ।’

प्रवक्ता महतका अनुसार, मुख्य विवाद महाधिवेशनको मिति बारे रहेको छ। ‘१५औं महाधिवेशन आम निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा मतभेद छ। हामी धेरै नजिक आएका छौँ, र अन्ततः एउटै निष्कर्षमा पुग्ने अपेक्षा छ,’ उनले थपे।

नेपाली कांग्रेसको संस्थापन पक्ष भने आगामी वैशाख महिनामा, अर्थात् निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ। अर्कोतर्फ, पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता निर्वाचन अघि विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्। यस विवादका कारण केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।