काठमाडौं, कात्तिक १६ :

केपी ओली शर्मा नेतृत्वको सरकारले विभिन्न ११ देशका लागि नियुक्ति गरेको नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने वर्तमान सरकारको निर्णय विरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शुक्रबार पनि सुनुवाई भएको थियो । त्यसदिन सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सो रिट न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हँदैछ ।

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेपछि सर्वोच्चमा रिट परेको हो ।

सरकारले फिर्ता बोलाएका राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली,साउदी अरबका नरेशविक्रम ढकाल,जर्मनीका डा शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा।नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, जापानका डा दुर्गाबहादुर सुवेदी,रुसका जंगबहादुर चौहान,स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य (बेलायत)का चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी  रहेका छन् ।