
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ। आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र प्रदान गरेको हो।

साम्पाङले शुक्रबार आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्। गत असोज १२ गते साम्पाङ स्वयं निर्वाचन आयोगमा उपस्थित भई दल दर्ताका लागि निवेदन दिएका थिए।
निर्वाचन आयोगमा दर्ता भएपछि श्रम संस्कृति पार्टी अब औपचारिक रूपमा राष्ट्रिय राजनीतिक गतिविधिमा सहभागी हुन पाउनेछ। पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।
पार्टीको संरचनाअनुसार अध्यक्ष स्वयं हर्क साम्पाङ, उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
हर्क साम्पाङले श्रम, इमानदारी र स्वावलम्बनमा आधारित राजनीति गर्ने उद्देश्यसहित नयाँ दलको स्थापना गरेको बताएका छन्।