विराटनगर, असोज ७ :

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ । 

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो ।
   
सभामुख विष्टले कोशी प्रदेशसभाले यस पटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापति समेत चयन गर्न महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रुपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको भन्दै धन्यवाद दिनुभयो ।
   
गत वैशाख ३१ गते सुरु भएर झण्डै चार महिना चलेको अधिवेशनमा २० पटक बैठक बसेको थियो । कोशी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो । 

पाचौँ अधिवेशनको अन्तिमसम्ममा शून्य समय ८४ पटक र वार्षिक नीति तथा कार्यक्रम, विधेयक तथा मुख्यमन्त्रीको विश्वासको मत सम्ममा एक सय ४३ पटक प्रदेशसभा सदस्यले आ- आफ्नो मन्तव्य राख्नुभएको थियो ।
   
यस अधिवेशनमा आर्थिक विधेयक बाहेक अरु तीन विधेयक पारित भए । केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् । 

प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमा चार संशोधन प्रस्ताव दर्ता भएकामा अधिकांश संशोधन सरकारले स्वीकार गरेकाले संशोधनकर्ता प्रदेशसभा सदस्यहरूले संशोधन फिर्ता लिएपछि उक्त विधेयक संर्व सम्मतले पारित भएको थियो । 

अधिवेशन समापनका अवसरमा बोल्दै नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले अब सरकारले कुरा गर्ने होइन काम गरेर देखाउनु पर्ने सुझाव दिँदै नेपाल निर्माण गर्न एमाले र नेपाली काँग्रेसको नयाँ समीकरण बनेको जानकारी दिनुभयो ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अहिलेको सरकारले जनतालाई दिने सेवाप्रवाहलाई अझ व्यवस्थित गर्ने भन्दै सरकार बनेको थोरै समयमा प्रदेशबाट अस्थायी सवारी चालक अनुमतिपत्र दिने काम सुरु गर्नु र प्रदेशमा देखिएका बेरुजु खर्च घटाउनु सराहनीय रहेको बताउनुभयो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभा राजनीतिक अस्थिरताको छायाँ बन्न नहुने बताउँदै प्रदेश सभा स्वतन्त्र रुपमा चल्नुपर्ने जिकिर गर्नुभयो ।