शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

शिक्षामन्त्री पुनले भने -जिन्दगीमा पहिलोपटक मतदानका लागि नाम दर्ता गराएँ

जेनजी पुस्तालाई अल्छी नगरिकन नाम दर्ता गर्न अनुरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १८ कात्तिक, २०८२ मा प्रकाशित
शिक्षामन्त्री पुनले भने -जिन्दगीमा पहिलोपटक मतदानका लागि नाम दर्ता गराएँ
काठमाडौं, कात्तिक १८ :

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी आम चुनावमा भोट दिनका लागि पहिलोपटक मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। उनले नयाँ बानेश्वरस्थित नामदर्ता केन्द्रमा गएर नाम लेखाएका हुन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो। १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु।’

उनले अब आउने सरकार नयाँ पुस्ता अर्थात् ‘जेनजी पुस्ताको सरकार’ हुनुपर्नेमा जोड दिएका छन्।

पुनले लेखेका छन्, ‘भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन -सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसकेको छ। लौ त भाइबहिनीहरू, भोटर लिस्टमा नाम लेखाउन गैहाल त।’

मन्त्री पुनले युवाहरूमाझ राजनीतिक सक्रियता र मताधिकारप्रति सचेतना फैलाउनका लागि सामाजिक सञ्जालमार्फत नियमित सन्देश दिँदै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार