
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्नुका साथै विभिन्न निकायमा बढुवा र दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकका १३ निर्णयः
१. वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने ।
२. स्विट्जरल्याण्डको जेनेभामा २०८२ मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने
३. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने।
४. खानेपानी मन्त्रालयका सचिव श्री प्रमिला देवी शाक्य बज्राचार्यलाई थाइल्यान्डको बैंककमा आयोजना हुने High-Level summit on Water Security and |Resilience विषयक कार्यक्रममा २०८२ मङ्सिर २२ देखि २६ गतेसम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५. जेन-जी (Gen-z) पुस्ताद्वारा २०८२ मङ्सिर २३ र २४ गते गरिएको प्रर्दशनको क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने ।
६. सर्वोच्च अदालतको आदेशबमोजिम पदममाया गुरुङलाई क्षतिपूर्ति बापत छ लाख तीन हजार छ सय रुपियाँ उपलब्ध गराउने ।
७. विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ईलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने पाँच करोड तिस लाख रुपियाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने ।
८. दक्षिण कोरियाली नागरिक MIJIN LEE लाई गैरकानूनी रूपमा नेपाल प्रवेश गरेको मितिदेखि निष्कासन मितिसम्म प्रचलित कानूनअनुसार लाग्ने विलम्ब शुल्क र जरिवाना वापतको रकम मिनाहा गरी नेपालबाट प्रस्थान गराउन अनुमति दिने।
९. नेपाली सेनाका दश जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने।
१०. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
११. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई मधेश समृद्धि कार्यक्रम र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम आयोजना समन्वय इकाइको लागि आ.व. २०८२/८३ मा अधिकृतस्तरका दश अस्थायी दरबन्दी स्वीकृत गर्ने।
१२. अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने ।
१३. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको लागि आ.व. २०८२/८३ मा अधिकृतस्तरका आठ अस्थायी दरबन्दी स्वीकृत गर्ने।