
३४ वर्षीय जोहरान ममदानीले न्युयोर्क सिटीको मेयरमा निर्वाचित भएका छन् ।
उनी निर्वाचन जित्दै अमेरिकाको सबैभन्दा ठूलो सहरका पहिलो मुस्लिम मेयर बनेका छन् ।
स्वयंलाई डेमोक्रेटिक सोसियालिस्ट भनेर चिनाउने ममदानी केही महिना अघिसम्म सार्वजनिक रूपमा धेरै परिचित थिएनन् । तर धनीहरूमाथि कर बढाएर सामाजिक कार्यक्रमहरू विस्तार गर्ने वाचा गर्दै उनी विजयी भएका हुन्।
“राजनीतिक अन्धकारको यस क्षणमा, न्युयोर्क नै उज्यालो हुनेछ,” उनले आफ्नो विजयी भाषणमा भन्दै राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष चुनौती दिएका छन्।
राष्ट्रपति ट्रम्पले स्वतन्त्र उम्मेदवार एन्ड्र्यु कुवो र रिपब्लिकन कर्टिस स्लिवामाथि ममदानीले जितेमा न्युयोर्क सिटीको संघीय बजेट कटौती गर्ने धम्की दिएका थिए।
यसैबीच भर्जिनिया र न्यु जर्सीमा डेमोक्र्याट पार्टीले राज्यपालको निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ।
त्यसैगरी क्यालिफोर्नियावासीहरूले आगामी वर्षको निर्वाचनलाई ध्यानमा राख्दै राज्यका कंग्रेस क्षेत्रहरू पुनः;|रचना गर्ने प्रस्ताव स्वीकृत गरेका छन्, जसले डेमोक्र्याटिक पार्टीलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति ट्रम्पको नाम मङ्गलबारको मतपत्रमा नभए पनि ती सबै निर्वाचनहरूमा उनको प्रभाव स्पष्ट रूपमा देखिएको छ ।