काठमाडौं, कात्तिक २० :

काँग्रेसका विशेष महाधिवेशन पक्षधरले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् ।

नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम फुडल्याण्डमा भेला बोलाएका हुन् ।

काँग्रेसमा नियमित महाधिवेशनको पक्षमा माहोल बनाउन भेला गर्न लागिएको बताइएको छ । काँग्रेसमा महाधिवेशनको मिति तोक्ने बिषयमा सहमति हुन सकेको छैन ।  

पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा  र  सह महामन्त्री महेन्द्र यादवद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको छ । पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि काँग्रेसले केही निर्णय भने गरेको छैन ।

बैठकमा महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।

यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको छ ।