
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले अत्याधुनिक दमकल (बारुणयन्त्र) भित्र्याएको छ।
सहरीकरणको तीव्र वृद्धि र आगलागीका घटना बढ्दै गएपछि नगरप्रमुख उपेन्द्र कार्कीको विशेष पहल र जापान सरकारको सहयोगमा बिहीबार एउटा दमकल (बारुणयन्त्र) भित्र्याइएको छ।
जापान सरकारको ग्रासरुट्स मानव सुरक्षा परियोजनामार्फत जापान दूतावासले दमकल (फायर ट्रक) सहयोग गरेको हो। यसले जापान र नेपालको जनस्तरीय मैत्री सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने अपेक्षा गरिएको छ।
दीपक चापागाईंको नेतृत्वमा सञ्चालित भोलिन्टियर कोर्प्स नेपाल (भीसीएन) साथै, एआरएफएफ एवं नेपाल रेस्क्यु एण्ड फायरफाइटर एसोसिएसन नेपालका अध्यक्ष मधुसुदन थापाले यस परियोजनाको सफल कार्यान्वयनमा पुर्याएको रचनात्मक योगदानका लागि नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार जापान सरकारबाट प्राप्त यो दमकल अत्याधुनिक प्रविधियुक्त छ, यो चौबीसै घण्टा परिचालनमा रहनेछ।
उनले भने, ‘अहिले सहरीकरण बढ्दै गएको छ। सानासाना गल्लीमा पनि पुग्न सक्ने यो दमकल हामीका लागि निकै उपयोगी छ। यसमा दुई प्रकारको प्रणाली रहेको छ, पानी र फोम दुवै माध्यमबाट आगो निभाउन सकिने। पानीले निभाउन नसक्ने आगो फोम प्रयोग गरेर निभाउन सकिन्छ।’
दमकल भित्रिएपछि स्थानीयवासी पनि निकै खुशी भएका छन्। उनीहरूका अनुसार नगरपालिकामा सुरुदेखिनै दमकलको आवश्यकता महसुस गरिएको थियो।
एक स्थानीयवासीले भने, ‘हामीले सुरुमा एम्बुलेन्स, दमकल र शववाहनको माग गरेका थियौं। अब ती क्रमशः पूरा हुँदैछन्। जापान सरकारको सहयोगमा दमकल आइपुगेकोमा हामी अत्यन्त खुशी छौं।’
कागेश्वरी मनोहरा नगरपालिका सुशासन कायम गर्दै जनताका लागि आवश्यक सेवा सुविधा विस्तार गर्दै निरन्तर अगाडि बढिरहेको छ। नगरपालिकाका अनुसार जापान सरकारबाट प्राप्त उक्त दमकललाई आउँदो सोमबार औपचारिक रूपमा हस्तान्तरण गरिनेछ।