काठमाडौं, कात्तिक २१ :

कागेश्वरी मनोहरा नगरपालिकाले युवालाई रोजगारीमुखी बनाउने उद्देश्यसहित निःशुल्क सूचना प्रविधि (आईटी) तालिम सुरु गरेको छ।

थलीस्थित नगर भवनमा सुरु भएको १० दिने तालिमको उद्घाटन शुक्रबार नगर प्रमुख उपेन्द्र कार्कीले गरे। उनले नगरपालिकालाई ‘आईटी हब’का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको बताए।

मेयर कार्कीले भने, ‘विद्यार्थीहरूको सपना पूरा गर्न हामीले विद्यालय स्तरमै आईटी इन्जिनियरिङ पढाउने कोर्स सुरु गरेका छौं। पढ्दै गर्दा काम गर्न चाहनेका लागि सी लेभलबाटै अवसर सिर्जना गरेका छौं। आईटीको माग अहिले विश्वभर छ, त्यसैले हामीले नगरभित्रै यो पहल थालेका हौं।’

त्यस्तै, उपमेयर शान्ता थापाले तालिमले युवामा आत्मविश्वास बढाउने र रोजगारीका अवसर सिर्जना गर्न मद्दत गर्ने बताइन्। ‘१० दिनमै पनि युवाहरूले सूचना प्रविधिसम्बन्धी उपयोगी ज्ञान लिन सक्नेछन्। सीप सिकेर नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश यो तालिमले दिनेछ,’ उनले भनिन्।

यस्तै, प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आईटी अहिलेको युगको आवश्यकता बनेको बताए। ‘सूचना प्रविधिले हिजो र आजबीचको दूरी घटाएको छ। विश्वका सफल व्यक्तिहरूले पनि प्रविधिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्,’ सुवेदीले भने।

नगरपालिकाले जेनेस सोलुसन प्रालिको सहकार्यमा तालिम सञ्चालन गरेको हो। करिब २०० युवाको सहभागिता रहेको तालिमका लागि नगरपालिकाले इच्छुकहरूलाई गुगल फारममार्फत आवेदन दिन आह्वान गरेको थियो।

नगरपालिकाले तालिममार्फत युवाहरूलाई आफ्नै नगरमै रोजगारीका अवसर सिर्जना गर्न र डिजिटल क्षेत्रमा आत्मनिर्भर बन्न प्रेरणा मिल्ने विश्वास लिएको छ।