धनुषा, कात्तिक २२ :

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिदैछन् ।

मुख्यमन्त्री सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  उनले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि  सोनल मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री सोनललाई आफ्नै पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,जनमत पार्टी,जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।

सरकारमा दाबी गर्ने समयमा ५ दल रहे पनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मतको समर्थन रहेको देखिन्छ ।

१ सय ७ सदस्यीय प्रदेश सभामा हाल १ सय ४ जना प्रदेशसभामा छन् । सोनल नेतृत्वको सरकारले विश्वासको मत पाउनका लागि प्रदेश सभामा कायम रहेको सदस्यको बहुमत सदस्यको समर्थनको आवश्यक छ ।

सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, लोसपाका ८ जना,माओवादी केन्द्रका ९ जना,जनमत पार्टीका १३ जना,नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्य मन्त्री सोनलको पक्षमा रहेका छन् । प्रदेश सभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले भने विपक्षमा रहेका छन् ।

जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका नि वर्तमान मुख्य मन्त्री सतिश कुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साह जनमत फुटेर बनेको जन स्वराज पार्टीमा गएकाले  उनीहरु कतै पनि खुलेका छैनन् ।  

त्यस्तै जसपा नेपालका एक जना प्रदेश सभा सदस्य निलम्बनमा परेका छन् । मधेस प्रदेश सभा सदस्य सरोज सिंह कुशवाह निलम्बित रहेकाले विश्वासको मत दिन पाउने छैनन् ।