
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
प्रदेशसभा बैठकमा उनले आफ्नो पदबाट राजीनामा घोषणा गरेका हुन् ।
आज प्रदेशसभामा विश्वासको मत लिन पुग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा घोषणा गरे। उनले आजै प्रदेशप्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिएका छन् ।
मुख्यमन्त्री सोनल गत असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत असोज २९ गते प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकि थिइन।
एक सय सात सदस्य प्रदेशसभामा सरकार गठनका लागि ५४ आवश्यक बहुमत हो । मधेस प्रदेशसभामा सत्ता गठबन्धन लोसपाको आठ, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको नौ र एकीकृत समाजवादीको सात सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उहाँलाई विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि मत दिने आश्वासन दिएको सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएका थिए ।
माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले आज सदनमा असन्तुष्टि जनाएका थिए । त्यसपछि आफूले मत पाउने सुनिश्चित नदेखेपछि उनले राजीनामा घोषणा गरे ।
मुख्यमन्त्री सोनललाई मधेसका प्रदेशप्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।