
कैलालीको घोडाघोडी नगरपालिका– २ टनकपुर स्थित पूर्व– पश्चिम राजमार्ग अन्तर्गत साँडेपानीमा जिपको ठक्करले पैदल यात्रीको मृत्यु भएपछि अहिले बौनियाँदेखि सुखडसम्मको यातायात आवतजावत बन्द छ ।
ठक्करका कारण बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सिपुर बस्ने वर्ष ५५ का साइकल यात्री शंकर डगौराको मृत्यु भएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा डाक्टरले मृत्यु घोषणा गरेको थियो। उनको शव अहिले सोही अस्पतालमा छ।
जिपको ठक्करका कारण अन्य तीन जना घाइते भएका छन्।
आज बिहान ५:३० बजे घोडाघोडी नगरपालिका– २ टनकपुर स्थित पूर्व– पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २ च २३५८ नं तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो।
ठक्कर खाएका घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने वर्ष ५४ का पैदल यात्री पदम बहादुर शाही,बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सिपुर बस्ने वर्ष ४५ का साइकल यात्री हर्क बहादुर डगौरा र २५ वर्षका साइकल यात्री कृष्ण डगौरा घाइते छन्। उनिहरुको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ बस्ने वर्ष २३ को सन्तोष घर्ती मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अहिले पूर्वपश्चिम राजमार्ग बन्द हुँदा यातायात ठप्प छ ।