काठमाडौं, साउन १६: गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउनुभयो । राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी रहेको बताउदै वितरणको संख्या एक दम कम भएकोले वितरणको पाटोलाई तीव्रता दिन निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताउनुभयो । नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रधान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो उहाले भन्नुभयो । साथै जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न गृहमन्त्री लेखकले निर्देशन थियो ।
‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन । सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो भन्ने आफुलाई लागेको बताउदै जेष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौं भन्नुभयो । जेष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाउनुपर्नेमा समेत उहाले जोड दिनुभयो ।
राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरुले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो । ‘अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छे भन्दा पनि दिने मान्छेले पहल लिन्छ । वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिदिनुपर्यो भनेर घर घर जान थाल्नुहुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ,’ उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । ‘यसलाई तपाईहरु अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउनुहोस् । हामी सम्बन्धित निकायमा पठाएर अगाडि बढाएर लैजान्छौं,’ उहाँले भन्नुभयो ।