काठमाडौं, कात्तिक २६ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफ्नो एकता अभियानका कारण केपी शर्मा ओलीको ‘सातो गएको’ टिप्पणी गरेका छन्।

बुधबार मातृभूमि जागरण अभियान नेकपामा समाहित गर्ने कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै भने, ‘एकताको अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ, होस् हवास गुमाउनु आवश्यक छैन।’

नेपालले गालीगलौजमा उत्रिनु पर्ने आवश्यकता नभएको उल्लेख गर्दै व्यंग्यात्मक शैलीमा ओलीलाई ‘धन्यवाद प्रस्ताव’ पास गर्न सुझाव दिए। ‘बरु हामीलाई धन्यवाद दिनुहोस्, मैले बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ,’ उनले भने।

उनले मातृभूमि जागरण अभियानसँगको एकतालाई ऐतिहासिक कदम भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे।