ललितपुर, कात्तिक २७ :

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नियमित महाधिवेशनलाई पार्टीभित्र सबैको साझा मिलनबिन्दुका रूपमा लिनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकमा धारणा राख्दै उनले पार्टीभित्रको सबै मतभेद र विवादको समाधान नियमित महाधिवेशनमार्फत खोजिनुपर्ने बताए।

‘नियमित महाधिवेशनबाटै हामी जानुपर्छ। नियमित महाधिवेशन नै सबैको मिलनबिन्दु हो,’ आङ्देम्बेले भने।

उनले फागुन २१ गतेका लागि प्रस्तावित पार्टी निर्वाचनको तयारीमा सबै जुट्नुपर्नेमा जोड दिँदै भने, ‘निर्वाचन भयो भने तयारीमा लाग्नुपर्छ, नभए आन्दोलनका लागि तयार हुनुपर्छ।’

सहमहामन्त्री आङ्देम्बेले आवश्यकता परे आन्दोलनको मुद्दा संसद् पुनर्स्थापनासँग पनि जोडिन सक्ने उल्लेख गरे। ‘समयले चाहन्छ वा चाहँदैन, त्यो थाहा छैन। तर, भोलि हामी आन्दोलनमा जाँदा मुद्दा संसद् पुनर्स्थापनाकै हुनसक्छ,’ उनले भने।

उनका अनुसार पार्टीका सबै निर्णय केन्द्रीय कार्यसमितिबाटै हुनुपर्छ। बैठकमा उनले विगतमा भएको पार्टी विभाजनको पीडा पनि स्मरण गरे।