काठमाडौं, कात्तिक ३० :

मधेस प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा आज दोस्रो चरणको सुनुवाइ हुँदै छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएपछि दुवै पक्षको बहस हुने भएको हो।

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर पैदा भएको विवादमा ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले सांसद सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमै मुख्यमन्त्रीको शपथ गराएपछि विवाद चर्किएको थियो।

सर्वोच्चले कात्तिक २३ गते मुख्यमन्त्री नियुक्तिसम्बन्धी सबै फाइल पेस गर्न सरकार पक्षलाई आदेश दिएको थियो। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई सुनुवाइ आवश्यक रहेको ठहर गर्दै ३० गतेका लागि पेसी तोकेको थियो। एमालेबाहेकका ७४ सांसदले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर गर्न माग गरेका छन्।