काठमाडौं, कात्तिक ३० :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनमा जान औपचारिक प्रस्ताव गरेका छन्।

उनले मंसिरमै विशेष महाधिवेशन र  नियमित महाधिवेशन गर्ने वैकल्पिक योजना पनि सुझाएका छन्। विशेष महाधिवेशन नबोलाए महामन्त्रीबाट राजीनामा गर्ने चेतावनी उनले दिएका छन्।

शर्माका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरिसकेको अवस्थामा त्यसलाई अस्वीकार गरेर अघि बढ्ने आधार कांग्रेससँग छैन। पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।

प्रतिनिधिहरूले असोज २८ गते नै आवश्यक संख्याभन्दा धेरै हस्ताक्षरसहित माग पेस गरिसकेकाले कांग्रेसले उक्त प्रक्रिया अस्वीकार गरे संसद् विघटन र सरकार निर्माण अवैधानिक भएको भन्दै आलोचना गर्ने नैतिक आधार कमजोर हुने शर्माको तर्क छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारका लागि बोलाइएको छ।