काठमाडौं, मंसिर १ :

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय सर्वोच्च अदालतले यथास्थितिमा राख्न दिएको आदेश पालना नगरेको आरोपमा मुद्दा दायर भएको हो ।

अधिवक्ता प्रेम सिलवालले दायर गरेको अवहेलना सम्बन्धी रिटको सुनुवाइ मंसिर ७ गतेका लागि तोकिएको छ। वर्तमान सरकारले जेनजी आन्दोलनपछि गठन भएको सरकारले असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 

सो निर्णयविरुद्ध परेको रिटमा न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो।