
सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसद्लाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सभामुख रामचन्द्र मण्डललाई सांसदहरूलाई तत्काल पदमुक्त नगर्न निर्देशन दिएको हो।
यसअघि गत बिहीबार नेपाली कांग्रेससहित सात दलका ६४ जना प्रदेशसभा सदस्य सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गराउन पुगेपछि सोही रात प्रदेशसभा सचिवालयले जसपा नेपालका चार र नागरिक उन्मुक्ति पार्टीकी एकसहित पाँच सांसदलाई पदमुक्त गर्ने सूचना जारी गरेको थियो। सभामुख मण्डलले यी सांसदहरूलाई लगातार १० बैठक अनुपस्थित रहेको भन्दै पदमुक्त गरेका थिए।
पदमुक्त गरिएका सांसदहरू जसपा नेपालका संजयकुमार यादव, मनिषकुमार सुमन, सिंगासन सा कलवार, शंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंहले सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।