
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहनुभएका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्न आग्रह गर्नुभएको हो ।
उहाँले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरूसँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताउनुभयो ।
कुन आयोजनाको अवस्था के छ? समस्या के छ ? भनेर बुझ्न विभाग तथा आयोजना प्रमुखहरुसँग छलफल राखेको भन्दै उहाले टिम वर्कका रूपमा अघि बढेर परिणाम दिन आग्रह गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री सिंहले ‘प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम पनि सुझाव दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी रूपमा काम गर्न पनि आग्रह गर्नुभयो।
कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए।
छलफलमा सहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी लिमिटेड, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन लगायतका मन्त्रालय मातहतका विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।