बारा, मंसिर ३ :

बारामा आज मध्यान्ह १२:३० बजेबाट बेलुका ८ बजेसम्म कर्फ्यु आदेश लागु गरिएको छ। नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजेडी समूहद्वारा गरिएको प्रदर्शनपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) अनुसार जीतपुर सिमरा उपमहानगरपालिका भित्र चारकिल्ला क्षेत्र निर्धारण गरी कर्फ्यु लगाइएको हो।

कर्फ्यु क्षेत्रअन्तर्गत गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटर, तथा सिमरा विमानस्थल वरपर ५ सय मिटर भित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण निषेध गरिएको प्रशासक मिश्रले जानकारी दिएका छन्।

कर्फ्यु आदेश जारी हुनुको मूल कारण भनेको हालै बढ्दो प्रदर्शनका कारण सम्भावित अशान्ति र सुरक्षा जोखिम नियन्त्रण गर्नु रहेको प्रशासनले जनाएको छ।