काठमाडौं, मंसिर ३ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा ‘निषेधको राजनीति’ नगर्न आग्रह गरेका छन्। नेकपा एमालेका नेताहरूलाई बारामा प्रवेश निषेध गरिएको घटनालाई संकेत गर्दै उनले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस्तो आग्रह गरेका हुन्।

महामन्त्री शर्माले सिमरामा देखिएको घटना जेनजी पुस्ताको भावना नभई त्यसको दुरुपयोग भएको टिप्पणी गरे।
‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन्,’ शर्माले लेखेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौँ।’

उनले देशभर निर्विघ्न रूपमा भ्रमण गर्ने वातावरण निर्माण नगरी चुनाव सम्भव नहुने चेतावनी पनि दिए। यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक अवरोध हटाउन सरकारको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे।

शर्माले सिमरा घटनालाई ‘दुःखद्’ भन्दै राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक ढंगबाट हुनुपर्नेमा जोड दिएका छन्।