काठमाडौं, मंसिर ४ :

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराइएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कूटर सवारी धनीलाई फिर्ता गरेको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख एवं डिआइजी ओमप्रकाश अधिकारीले  फेला पारिएको सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरे । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वि.सं. २०८१/८२ मा हराएको रूपमा दर्ता भएका ती सवारी साधनमध्ये केही राम्रै अवस्थामा भेटिएका छन् भने केहीका पार्टपूर्जा निकालिएको र नचल्ने अवस्थामासमेत फेला परेका छन्।

उनीहरूलाई सवारी साधन हस्तान्तरण गर्दा धेरै धनीहरूले ट्राफिक प्रहरीलाई खादा लगाई धन्यवाद व्यक्त गरेका थिए। केहीले त खुसी प्रकट गर्न केक काटेर खुवाएको समेत प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले हराएका सवारी साधन फिर्ता दिलाउने कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा चोरी र हराइने घटनालाई थप न्यूनिकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।