काठमाडौं, मंसिर ५ :

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा आचारसंहिता उल्लङ्घन गरेको ठहर भएपछि चितवन राइनोजका बलर रिजन ढकाल कारबाहीमा परेका छन्।

ढकालले एलबीडब्ल्यूको अपिलमा ‘नट आउट’ निर्णय आएपछि अम्पायरप्रति कडा आपत्ति जनाएका थिए। उनीमाथि सो व्यवहार आईसीसीको लेभल–१ उल्लङ्घनअन्तर्गत पर्ने कृत्य भएको निष्कर्ष निकालिएको एनपीएलले जनाएको छ।

लिगका अनुसार ढकालले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । उनलाई चेतावनीसहित १ डिमेरिट प्वाइन्ट दिइएको छ।

उक्त खेलमा चितवन राइनोज लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएको थियो।