
नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाममा हुने अवरोधका विरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन्। शुक्रबार बबरमहलमा आयोजना गरिएको प्रदर्शनको नेतृत्व गर्दै उनले एमालेले नै जेनजी पुस्ताका वास्तविक मागहरू सम्बोधन गर्ने दाबी गरे।
युवाहरूको विरोध प्रदर्शनका बीच बस्नेतले जेनजी आन्दोलनका घाइते र शहीदलाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताए।
‘जेनजीको नाममा जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छ,’ बस्नेतले भने, ‘जेनजीहरूसँग हाम्रो निरन्तर सम्पर्क छ, तर उनीहरूका नाम–ब्यानर प्रयोग गर्दै अन्य तत्वहरू सक्रिय छन्।’
एमालेले गठन गर्न लागिएको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ बारे उनले पालिका, वडा र टोलस्तरमा सुरक्षा सुनिश्चित गर्न फोर्स परिचालन हुने जानकारी दिए।
‘विभिन्न पेशागत संस्थासँग पनि सहकार्य हुनेछ,’ उनले भने, ‘अब सार्वजनिक सम्पत्तिमा तोडफोड वा आगजनी हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ‘युथ भोलेन्टियर फोर्स’को केन्द्रीय कमाण्ड घोषणा गर्ने कार्यक्रम रहेको छ।