
सबै तस्बिर : सुधीरकुमार मिश्रा/सक्रिय न्युज
कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन भएको १० दिने नि:शुल्क सूचना प्रविधि (आईटी) तालिम सम्पन्न भएको छ। थलीस्थित नगरभवनमा आज आयोजित औपचारिक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो।
युवालाई रोजगारीमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन समारोहमा नगरप्रमुख उपेन्द्र कार्कीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आईटी क्षेत्रको बढ्दो मागसहित नगरपालिकाले युवालाई डिजिटल क्षेत्रमा सक्षम बनाउने लक्ष्यका साथ यस्तो कार्यक्रम अघि सारेको बताए।
उनका अनुसार काम गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र युवालाई आईटी क्षेत्रमा निपुण बनाउने उद्देश्यले जेनजीसँग सहकार्यमा यो १० दिने शिविर सञ्चालन गरिएको हो। मेयर कार्कीले भने, ‘यो पहल निकै प्रभावकारी भएको छ। भविष्य आईटीमै भएकाले युवाले नगरमै रोजगारीका अवसर पाउन सक्छन् ।’ सहभागीमध्ये २० जनालाई इन्टर्नसिपमार्फत रोजगारीको अवसर प्रदान गरिने समेत कार्यक्रमका दौरान जानकारी दिइयो।
यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले १० दिने तालिम उपलब्धिमूलक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर अघि सारिने बताए।‘विद्यार्थीदेखि आइटी सिक्न चाहने सबैलाई मार्गदर्शनका लागि यो शिविर सञ्चालन गरिएको हो,’ सुवेदीले भने।
तालिममा सहभागी रामकृष्ण पुडासैनीले कार्यक्रमले आफूलाई प्रविधिमा आवश्यक पर्ने आधारभूत सीप र करियरको दिशा पहिचान गर्न सहयोग पुर्याएको बताए।
सहभागी मनिषा कोइरालाले आईटीसँग प्रत्यक्ष सम्बन्ध नभएको विद्यार्थी भए पनि यो तालिमले आइटी जुनसुकै क्षेत्रका लागि उपयोगी हुने रहेछ भन्ने बुझ्न पाएँ, भन्दै खुशी व्यक्त गरिन्।
कान्तिपुर कलेजका विद्यार्थी रितेश कोइरालाले पनि तालिमबाट धेरै उपयोगी ज्ञान हासिल गरेको बताए। सहभागी अधिकांश युवायुवतीले तालिम अत्यन्तै फलदायी रहेको जनाउँदै केही गर्नुपर्छ भन्ने जोश, जाँगर र आत्मविश्वास बढाएको प्रतिक्रिया जनाएका छन्। नगरपालिकाले शिक्षा,स्वास्थ्य र रोजगारीका लागि विभिन्न कार्यकमहरु निरन्तर गर्दै आएको छ ।