काठमाडौं, मंसिर ६ :

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।  

बैठक आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्नेछ । महाधिवेशनको मितिको बिषयलाई लिएर काँग्रेसको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।  महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक बैठक  सारिएको हो ।

गत असोज २८ गतेबाट सुरु भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।

पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद काँग्रेसभित्र छ । यो विषयलाई टुंगो लगाउन पदाधिकारीहरूले अनौपचारिक छलफललाई पनि जारी रखेका छन् । कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा लगायतका पदाधिकारी विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

गत असोज २८ गतेबाट जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका सम्बन्धमा दुई वटा प्रस्तावहरू पेस भएका छन् ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् भने सह महामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

केही नेताहरूले दुवै प्रस्तावलाई मिलाएर मध्य मार्गी प्रस्ताव ल्याइ विवाद समाधान गर्न प्रयास गरिरहेका छन् । त्यसमा पार्टीभित्रको इतर समूहका नेता डा शेखर कोइराला, सह महामन्त्री महालक्ष्मी उपाध्याय लगायत छन् ।