
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने बताएका छन्। उनले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा यो कुरा उल्लेख गर्दै भने, ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ।’
प्रचण्डले अघिल्लो पुस्ताको कर्तव्य भनेको वैचारिक र सांस्कृतिक दृष्टिकोणबाट युवा पुस्तालाई मार्गदर्शन गर्नु भएको उल्लेख गर्दै भने, ‘नेपालको भविष्यलाई ध्यानमा राख्दै अगाडि बढ्नुपर्नेछ। भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि हामीलाई मिलेर काम गर्नुपर्ने आवश्यकता छ।’
प्रचण्डले जेनजी आन्दोलनलाई नयाँ उर्जाको रुपमा लिए। ‘यो आन्दोलनले देश र विश्वभरका नेपालीहरूलाई झकझक्यायो। यसले नयाँ परिस्थिति निर्माण गरेको छ र नयाँ चेतनातिर अगाडि बढ्न उत्प्रेरित गरेको छ,’ उनले भने। उनले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनलाई पनि ऐतिहासिक कदमका रूपमा हेरिएको उल्लेख गरे।
प्रचण्डले आफ्नो र जेनजी आन्दोलनका मागमा समानता रहेको स्वीकार गरे। ‘हाम्रो माग र जेनजीको मागमा समानता छ। विगतमा हामीले जति काम गर्न सक्थ्यौं, त्यो गर्न नसकेका छौं,’ उनले भने। उनले आफूले १६ वर्षको उमेरमा पार्टीमा आवद्ध भएर राजनीतिमा कदम राखेको र २७ वर्षको उमेरमा युवक संगठनको अध्यक्ष बनेको बताए।