विराटनगर, मंसिर ८ :

विराटनगर एयरपोर्ट रोडमा एमाले नेता महेश बस्नेतमाथि रातो मसी छ्यापेर विरोध जनाउने दुई युवालाई प्रहरीले रिहा गरेको छ।  

आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानतर्फ गइरहेका बस्नेत सवार गाडीमा सन्जोग गौतम र अर्पित कुँवरले रातो रङ छ्यापेका थिए। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

डीएसपी कोपिला चुडालका अनुसार उनीहरूलाई आइतबार बेलुकै रिहा गरिएको हो।

प्रत्यक्षदर्शीअनुसार विमानस्थलदेखि केही टाढा चिया पसलमा बसेका ती दुईमध्ये गौतम आकस्मात उठेर आएर बस्नेत चढेको गाडीमा रङ छ्यापेका थिए ।

रङ प्रहार गर्ने सन्जोग गौतम महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेवि संघ) को इकाई समिति सभापति हुन् भने अर्का युवा अर्पित कुँवर पनि कांग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध रहेको बताइएको छ।