
प्रतीकात्मकर तस्बिर ।
बाराको सीमावर्ती चिकनी-पकडिया नजिक आइतबार राति साढे तस्करी नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबिच गोली हानाहान भएको छ ।
भन्सार छलीका मालवस्तु नेपालतर्फ भित्र्याउन लागेको ठोस सूचना पाएपछि प्रहरी टोली सीमातर्फ परिचालन गरिएको थियो ।
भारतको हनुमाननगरबाट ट्याक्टरमा लोड गरेर अवैध सामान नेपाल भित्र्याउन लागिएको सूचनाका आधारमा प्रहरीले रोकथाम गर्ने प्रयास गर्दा तस्कर समूहले पहिलो आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार नियन्त्रणका लागि अघि बढेको प्रहरीमाथि तस्करहरुले अचानक दुई राउन्ड गोली प्रहार गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीतर्फबाट सात राउन्ड गोली फायर गरिएको हो।
घटनास्थलमा खटिएको टोली ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएका प्रहरी निरीक्षक कृष्णादेव प्रसाद साहको कमाण्डमा रहेको २० जनाको समूह थियो ।
भाग्दै गरेका तस्करहरूले छाडेर भागेका चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल र आधारकार्ड प्रहरीले घटनास्थलमै फेला पारेको छ ।
बारामा तस्करी नियन्त्रण गर्ने क्रममा वर्षमा एक-दुई पटक तस्कर समूहसँग दोहोरो भिडन्त, झडप हुने गरेको छ ।