
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘प्रविधिको सही प्रयोग गरौं’ लैङ्गिक हिंसाको अन्त्य गरौं’ भन्ने नारासहित आजदेखि डिसेम्बर १० सम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।
यसै अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आज ‘सेतो रिबन’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गर्यो। कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, जनप्रतिनिधि, कर्मचारी र विभिन्न सरोकारवाला सहभागी थिए।
नगरप्रमुख कार्कीले भने, ‘लैङ्गिक हिंसा अन्त्य गर्न सामुदायिक सहकार्य र जनचेतना अत्यन्तै जरुरी छ। नगरपालिकाले यस अभियानलाई प्रभावकारी बनाउनेछ।’
कार्यक्रममा सहभागीहरूले समाजमा भइरहेका विभिन्न प्रकारका लैङ्गिक हिंसा, त्यसले पार्ने प्रभाव र रोकथामका उपायबारे धारणा राखे। उनीहरूले जनस्तरमै सचेतना अभिवृद्धि गर्न सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए। कार्यक्रममार्फत नगरपालिकाले लैङ्गिक हिंसाविरुद्ध सामुदायिक एकता, सहयोग र संवेदनशीलताका साथ अभियान सफल पार्न सबैलाई आह्वान गरेको छ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लैङ्गिक हिंसा रोकथामका लागि सञ्चालन भएका प्रमुख कार्यक्रमहरूको जानकारी दिएको छ।
हिंसा पीडितलाई निःशुल्क उपचार, मनोसामाजिक परामर्श र कानुनी सेवा उपलब्ध गराउन देशभरका ९७ वटा अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) सञ्चालनमा छन्। यी केन्द्रमार्फत हरेक वर्ष करिब १४ हजारभन्दा बढी पीडितले सेवा लिइरहेका छन्।
पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसा बढ्दै गएपछि सरकारले प्रविधिको सुरक्षित प्रयोगबारे सचेतना कार्यक्रमहरू तीव्र पारेको छ।