
फाइल तस्बिर ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा विशेष महाधिवेशन अनिवार्य रहेको स्पष्ट पारेका छन्। उदयपुरको गाईघाटमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी विधानमै विशेष महाधिवेशन रोक्ने वा फिर्ता गर्ने व्यवस्था नरहेको उल्लेख गरे।
‘कांग्रेसको विधानमा विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको छैन। त्यसैले विशेषको ‘ब्याक गियर’ हुँदैन। ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ,’ शर्माले भने। उनका अनुसार सोही अवधिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग स्वाभाविक रूपमा सम्बोधन हुनेछ।
शर्माले पार्टी र देश दुवैलाई विधान तथा संविधानअनुसार चलाउनुपर्नेसमेत जोड दिए। ‘कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ,’ उनले भने।
पार्टीभित्र विभिन्न नेतृत्वका अभिव्यक्ति नै मुख्य विषय होइन भन्ने स्पष्ट गर्दै शर्माले सभापति शेरबहादुर देउवाको भूमिकालाई निर्णायक मानेका छन् ।
कांग्रेसभित्र हाल विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमै जाने भन्ने विषयमा तीव्र विवाद छ। नेताहरूबीच मतभेद चुलिँदै गएपछि पार्टीभित्रको निर्णय प्रक्रिया थप जटिल बन्दै गइरहेको छ।