जनकपुर, मंसिर १० :

मधेस प्रदेश सरकारले उखु किसानलाई यसअघि दिइँदै आएको अनुदान रकमलाई निरन्तरता दिन संघीय सरकारलाई लिखित अनुरोध गर्ने भएको छ ।

बुधबार जनकपुरमा मधेस प्रदेश मन्त्रिपरिषद्ले केही दिन अघि गरेका निर्णयबारे जानकारी गराउदै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानले प्रति क्विन्टल ७० रुपैया अनुदान प्राप्त गर्दै आएकोमा हाल उक्त रकम प्राप्त नहुदा किसान तथा उद्योगसमेत समस्यामा परेकाले बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन र आगामी वर्ष समेत उक्त अनुदान रकमलाई निरन्तरता दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिने जानकारी दिए ।

त्यस्तै धान काट्ने बेला अविरल वर्षाबाट ठूलो क्षति भएको र सो क्षतिको विवरण स्थानीय पालिकामा दर्ता गराएका किसानहरूलाई राहत स्वरूप १५०० रूपैयाँ प्रति कठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने उनले बताए ।

त्यस्तै उनले स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरूलाई प्रति महिना २ हजारको दरले (जीवन निर्वाह) भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको पनि जानकारी दिए। बैठकले मधेस प्रदेशका आठवटै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको मुख्यमन्त्री यादवले बताए ।

उनले मधेस प्रदेश सरकारका बिरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन रहेको अवस्थामा दिर्घकालीन असर पर्ने कुनै काम नगरेको दाबी गरे। अदालतले आफ्नो पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले आफू जति दिन पदमा रहेपनि मधेस प्रदेशका जनताप्रति उत्तरदायी भएर काम गर्ने बताए ।