
फाइल तस्बिर ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले पार्टीको केन्द्रीय कार्यसमिति बैठक अत्यधिक लम्बिएको भन्दै तीव्र आलोचना गरेका छन्। बुधबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर भेलामा उनले कांग्रेसको बैठक डेढ महिनासम्म चल्दा पनि निष्कर्षमा नपुगेको बताए।
उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको २३ दिन लामो बैठकभन्दा पनि कांग्रेसको बैठक ‘कीर्तिमान’ तोड्नेगरी लम्बिएको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक महिना हिसाबले तीन महिना छुन लाग्दा पनि महाधिवेशनबारे ठोस निर्णय नआएको उनको टिप्पणी थियो।
घिमिरेले भने,‘बल्लतल्ल निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्र सफल भयौं, महाधिवेशन टुंग्याउने उद्देश्यले बसेको बैठकबाट यथार्थमा कुनै उपलब्धि भएन।’
घिमिरेले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर संकलनविरुद्ध ‘नक्कली’ भएको आरोप प्रमाणसहित देखाउन चुनौती दिए। युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने समयमै सभापति शेरबहादुर देउवा पुनः सक्रिय भएको भन्दै नेताहरूले आपत्ति पनि जनाए।
लामो समयसम्म बैठक चले पनि पार्टी महाधिवेशनबारे कुनै ठोस निष्कर्ष ननिस्केको नेताहरुले बताएका छन् ।