
जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति तथा अखिल क्रान्तिकारीका नेता विष्णु ढुंगेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो।
यसअघि पक्राउ परेकाको बयानको आधारमा ढुंगेललाई समातिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार संकलित फोटो तथा भिडियो फुटेजमा सर्वोच्च अदालतमा आगजनी गर्नेहरूको अगुवाइमा ढुंगेल देखिएपछि उनलाई पक्राउ गरिएको हो। झापा भद्रपुर–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर महालक्ष्मी–५ का ३० वर्षीय ‘ब्राउन’ भनिने सुशील श्रेष्ठ आपराधिक उपद्रव मुद्दामा म्याद थपेर अहिले प्रहरी हिरासतमा छन्।
अधिवक्ता समेत रहेका उनी २०७९ सालमा भएको स्ववियु चुनावमा नेपाल ल क्याम्पसको सभापतिमा विजयी भएका थिए।