काठमाडौं, मंसिर १२ :

उडान सञ्चालनसम्बन्धी सुरक्षा नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई पाइलटलाई ग्राउन्डेड गरेको छ।

प्राधिकरणको फ्लाइट अपरेसन डिभिजनले शुक्रबार निगमलाई पठाएको पत्रमा वाइडबडी जहाजका क्याप्टेन विजय लामा र सोनी राणाले उडान क्रममा विमानभित्र फोटो तथा भिडियोग्राफी गरी प्रचलित सुरक्षा मापदण्ड उल्लङ्घन गरेको उल्लेख छ। यस आधारमा दुवैलाई अर्को सूचना नआएसम्मका लागि रोस्टर अफ गरिएको प्राधिकरणले जनाएको छ।

दुवै पाइलटलाई हाललाई कुनै पनि सक्रिय उडान ड्युटीमा सहभागी नगराउन आदेश दिइएको छ। नेपालको उड्डयन नियमअनुसार उडानको संवेदनशील अवस्थामा पाइलटद्वारा गरिने फोटोग्राफी वा भिडियो गतिविधि सुरक्षा जोखिम मानिने भएकाले उनीहरुको कदम नियमविरुद्ध ठहरिएको प्राधिकरणको भनाइ छ।

क्याप्टेन विजय लामामाथि यसअघिसमेत यस्तै प्रकृतिका आरोपमा कारबाही भएको थियो। १८ महिनाअघि ग्राउन्डेड गरिएपछि उनले माफी मागेपछि कारबाही फुकुवा गरिएको थियो।