काठमाण्डौँ , असोज ९ :

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका- २५ स्थित न्युरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका- २४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्नाक्स, महानगरपालिका- २२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार  प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उहाँले दिनुभयो । 

यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका- ११ स्थित प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । उक्त केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजु घ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको १०० डब्बा नक्कली घ्यू स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।
 
विभागले भक्तपुरको मध्यपुर थिमी नगरपालिका- ३ स्थित मेहता स्टोर र सोही नगरपालिका- ५ स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रुपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो ।

विभागले उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्न तथा खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग गर्न निर्देशन दिएको छ। 

अनुगमनका क्रममा मूल्यसूची व्यवस्थित रुपमा नराखिएको र व्यवसायसम्बन्धी कागजात नभेटिएको प्रवक्ता महर्जनले बताउनुभयो ।

मूल्यसूचीलाई सेवाग्राहीले देख्ने गरी व्यवस्थित रुपमा राख्न तथा व्यवसाय दर्तासम्बन्धी कागजात चुस्तदुरुस्त राख्न विभागले ती पसललाई निर्देशन दिएको छ ।