काठमाडौं, मंसिर १३ :

नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् ।

शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ । विभिन्न जिल्लाहरूले आफ्नो अनुकुल हेरेर मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

पार्टीको संगठन विभागले केहै दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारसम्मको समय दिइएको छ ।

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिँदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यस पटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास,जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । मनोनीत एमालेको ११ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वत प्रतिनिधि हुनेछन्। त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्। यी कमिटीबाट जम्मा ४६४ जना स्वत प्रतिनिधि हुनेछन्।

एमालेको कुल सङ्गठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै  प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा  बढी प्रतिनिधि रहनेछन्।  

पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ  । तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको छ ।

एमालेको एघारौँ महाधिवेशन  यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।