काठमाडौं, मंसिर १५ :

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।

महाधिवेशनको मितिको विषयमा सहमति हुन नसकेपछि पटक पटक सर्दै आएको केन्द्रीय कमिटिको आजको बैठकमा महाधिवेशनकै कार्यतालिकामा छलफल हुने बताइएको छ ।

कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटक पटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग हिजो छलफल गरेका थिए ।

सभापति देउवा आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशनका पक्षमा देखिएका छन् ।

काँग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको छैन ।

कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्विकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुन सक्ने देखिएको छ ।

यसका लागि सभापति देउवाले कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका छन् ।

विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापा पनि सभापति,कार्यवाहक सभापतिसहितका सबै नेता इमानदारी पूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने पक्षमा सहमत छन् ।

असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भएकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

पुस २७ गतेदेखि महाधिवेशन गर्नसकिने तालिकाबारे काँग्रेसमा गृहकार्य भइरहेको बताईएको छ । आजको बैठकमा प्रस्ताव हुनसक्ने पनि एक नेताले बताएका छन् । यता महाधिवेशनको सुनिश्चितता नभएसम्म विशेष महाधिवेशनको माग फिर्ता नहुने विशेष महाधिवेशन पक्षधरहरुले बताउदै आएका छन् ।