काठमाडौं, मंसिर १५ :

पत्रकारितामा लामो समय बिताएका अग्रज पत्रकारहरूले वर्तमान पत्रकारिता क्षेत्रमा विकृति र अव्यवस्था बढेकोमा गम्भीर चिन्ता प्रकट गरेका छन्।

हालका दिनमा पत्रकारितामा हुने गरेका तथ्यहिनता र पक्षपाती सूचनाका सम्बन्धमा विशेष चासो व्यक्त गर्दै उनीहरूले यो अवस्थामा सुधारका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। 

सम्पादक समाज नेपालले शनिबार गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजना गरेको कार्यक्रममा अग्रज पत्रकारहरूले विगतका आफ्नो अनुभव सुनाउने क्रममा यस्तो बताएका हुन् ।

पुरु रिसालको विचार: सत्ताको दबाब र गुणगान पत्रकारिता

समाजका अध्यक्ष र वरिष्ठ पत्रकार पुरु रिसालले गोरखापत्रमा आफ्नो लामो समयको अनुभव सुनाउँदै भने, ‘त्यो समयमा पञ्चायती शासनको दबाब थियो, तर गोरखापत्र सरकारी निकाय भएको कारण स्तुतिवादी पत्रकारिता गर्नुपर्ने अवस्था थियो। राजाका गुणगानका समाचार बन्थे। अहिले पनि सत्तामा हुनेहरूको गुणगान गर्ने परम्परा कायमै रहेको छ।’ उनले भने, ‘आजको पत्रकारिता क्षेत्रमा विकृति बढेको छ, केहीले आफ्ना प्रतिद्वन्दीलाई दबाउन गलत समाचार चलाइरहेका छन्।’

पुरुषोत्तम दाहालको दृष्टिकोण: राजनीति र दबाब

यस्तै अग्रज पत्रकार पुरुषोत्तम दाहालले पनि पञ्चायती व्यवस्थामा पत्रकारिता गाह्रो भए पनि अहिलेको जस्तो विकृति नभएको बताए। उनले विशेष गरी पत्रकारिता क्षेत्रमा हुने गरेका राजनीति प्रभाव र दबाबको बारेमा उल्लेख गर्दै निर्दलीय कालको राजनीति संकटपूर्ण रहेको चर्चा गरे ।

तीर्थ कोइरालाको अनुभव: कठिन समय र स्वतन्त्रता

यस्तै अग्रज पत्रकार तीर्थ कोइरालाले एक समय समाचार लेखेकै आधारमा पत्रकारहरूलाई दण्डित गर्ने र पत्रपत्रिका बन्द गर्ने स्थितिको अनुभव सुनाए। उनले भने, ‘हामीले त्यो कठिन समयको सामना गर्दै आज स्वतन्त्र पत्रकारिता प्राप्त गरेका छौं।’कोइरालाले पञ्चायलदेखि अहिलेसम्मको पत्रकारितालाई हेर्दा शैलीमा कुनै भिन्नता नभई पात्र मात्र फरक भएको बताए ।

वेदप्रकाश त्रिपाठी: तथ्य र प्रमाणको महत्त्व

यस्तै अग्रज पत्रकार वेदप्रकाश त्रिपाठीले त्यो समयमा समाचार लेख्दा तथ्य र प्रमाणको आधार बलियो हुने गरेको बताए ।अहिलेको डिजिटल युगमा धेरै भ्रम र झूठा समाचार फैलाउने प्रवृत्ति बढेकोप्रति चिन्ता जनाए ।

बोधराज त्रिपाठीको चिन्ता: मिडिया र राजनीति

यसैगरी वरिष्ठ पत्रकार बोधराज त्रिपाठीले अहिलेका मिडियाहरूले राजनीतिलाई बिगारेको हो कि राजनीति नै पत्रकारिता बिगारिरहेको हो, यो बुझ्न आवश्यक रहेको बताए। ‘पत्रकारिता क्षेत्रमा विकृति बढ़ेको छ र सञ्चार माध्यममा लगानीको पारदर्शिता पनि चिन्ताको विषय हो,’ उनले भने।

कुलचन्द वाग्ले: भाषागत विकृति र पत्रकारिताको गुणस्तर

अग्रज पत्रकार कुलचन्द वाग्लेले वर्तमान मिडियामा प्रचलित भाषागत विकृतिका बारेमा टिप्पणी गर्दै भने, ‘मिडियामा प्रचलित समाचारहरूको सामग्रीमा प्रायः भाषागत विकृति देखिन्छ, जसले पत्रकारिताको गुणस्तरमा असर पुर्याइरहेको छ।’

टंक पन्तको सुझाव: खोजमूलक पत्रकारिताको महत्व

यस्तै अग्रज पत्रकार टंक पन्तले समाचार कपी पेस्ट गर्ने प्रवृत्ति बढेकोप्रति आलोचना गर्दै खोजमूलक पत्रकारितामा जोड दिए। ‘आजकल हामी खोजमूलक पत्रकारिता गुमाउँदै जाँदैछौं,’ उनले भने।

हरि विनोद अधिकारीको अपिल: पत्रकारिताले सही दिशा दिनु पर्छ

यसैगरी अग्रज पत्रकार हरि विनोद अधिकारीले आज धमिलो भएको राजनीतिलाई पत्रकारिताले सही दिशा दिने जिम्मेवारी निभाउनुपर्नेमा जोडदिए। उनले थपे, ‘पत्रकारितामा अब विश्वासिलो स्रोतहरू कम भएका छन्।’

सुदर्शन आचार्य: मिडिया र विश्वासको संकट

वरिष्ठ पत्रकार सुदर्शन आचार्यले ऊ बेला पत्रकारिता गर्न गाह्रो भए पनि विश्वासिलो हुने गरेको सुनाउँदै अहिले पत्रकारिता गर्न सजिलो छ र विश्वासिला नभएको बताए । मिडिया ट्रायल गर्ने क्रम बढेको उनको भनाइ थियो ।

अग्रज पत्रकारहरू,जीवराम भण्डारी, शान्तिकृष्ण अधिकारी, युवराज गौतम लगायतले खोजमूलक पत्रकारिता र समाचार लेखनको सुधारको आवश्यकता औंल्याए। उनीहरूले सञ्चारमाध्यममा लगानीको पारदर्शिता र मिडिया ट्रायलका विषयमा पनि प्रश्न उठाएका छन्।कार्यक्रमको सहजीकरण भीम थापा र अस्मिता श्रेष्ठले गरेका थिए।