काठमाडौं, मंसिर १५ :

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेन–जी आन्दोलनका दौरान भएको दमनबारे सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा ‘जिल्लाको शान्तिसुरक्षाको जिम्मा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को हो भन्दै आफू जिम्मेवार नठहरिने दाबी गरेका छन्।

२३–२४ भदौको घटनामा प्रहरीद्वारा अत्यधिक बल प्रयोग भएको आरोपसहित दर्ता भएको रिटमा खापुङले स्थानीय प्रशासन ऐन र प्रहरी नियमावली उद्धृत गर्दै जिल्ला तहको शान्तिसुरक्षामा प्रहरी महानिरीक्षकको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरेका छन्। उनका अनुसार सीडीओको प्रत्यक्ष रेखदेखमा हुने शान्तिसुरक्षा व्यवस्थामा आईजीपीलाई जिम्मेवार ठहर्याउने आधार छैन।

जेन–जी आन्दोलनमा २२ जनाको ज्यान जानेगरी भएको बल प्रयोगमाथि तीव्र आलोचना भइरहेका बेला खापुङले ‘प्रहरीले असल नियतले काम गरेको’ जिकिर गर्दै कुनै प्रहरीलाई कारबाही गर्न नमिल्ने दाबी गरेका छन्।

प्रहरी महानिरीक्षकबाट हटिसकेपछि खापुङलाई जाँचबुझ आयोगले काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ भने आयोगले अवहेलना कारबाहीको चेतावनीसमेत दिएको छ।