मधेश, मंसिर १७ :

मधेस प्रदेशसभा बैठक आज बस्दैछ ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि  बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन गरेको थियो। तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेका थिए ।

सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको आदेशलाई शिरोधार्य गर्दै विश्वासको मत लिएर देखाउने दाबी गरेका छन् ।

सोही परमादेश अनुरुप आफूहरु विश्वासको मत लिने तयारी गरिरहेको र दलहरुसँगको परामर्शलाई अगाडि समेत बढाएको मुख्यमन्त्री यादवले जानकारी दिए । जबकि सर्वोच्चको परमादेशसँगै ७ दलीय गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी थालिसकेको छ । यस हिसाबले मुख्यमन्त्रीको पक्षमा मधेश प्रदेशसभाको अंकगणित कमजोर छ ।

मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।

यता विपक्षमा रहेको गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी सातदलीय गठबन्धन दुई तिहाइ प्रदेशसभा सदस्य छन् ।

यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ ।