जनकपुर, मंसिर १७ :

मधेस प्रदेशसभाको बैठक बुधबार दिउँसो दुईबजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बिहान बसेको बैठकमा विश्वासको मत लिनका लागि प्रस्तावक मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायत सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक दिउँसो दुईबजेसम्मका लागि स्थगित गरिएको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी गराइन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो ।

प्रदेश सभासभामा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश दिएको थियो । सर्वोच्चको पत्र मंगलबार पाएपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिन लागेका हुन्।