
ऊर्जामन्त्री कुलमान घिसिङले देशको विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण रहेको बताएका छन्। ‘उज्यालो नेपाल पार्टी’को घोषणा सभामा प्रमुख अतिथि घिसिङले ७५ वर्षको इतिहासमा देशमा भएका राजनीतिक परिवर्तनहरूका बाबजुद पनि आर्थिक विकासमा असफलता देखिएको उल्लेख गरे।
घिसिङले भने, ‘सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको हो। हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्यौं, तर आर्थिक क्रान्तिमा असफल बन्यौं।’
उनले नेपालसँगै भारत र चीनका राजनीतिक परिवर्तनलाई पनि उल्लेख गर्दै भने, ‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो, त्यही समयमा भारत र चीनमा पनि ठूला परिवर्तन भए। ७५ वर्षमा चीनले आफ्नो जीडीपी ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरेको छ। नेपालले भने ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो।’ परिणाममुखी राजनीतिक कसैले पनि नगरेको घिसिङको भनाइ थियो ।