जनकपुर, मंसिर १७ :

मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत प्राप्त गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपरान्ह ५ बजेसम्म मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश प्रमुखलाई राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। विश्वासको मत नलिएको अवस्थामा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने आदेश सर्वोच्च अदालतले दिएको थियो।

यादवको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले परमादेश जारी गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत लिन २४ घण्टाभित्र दाबी पेश गर्न आदेश दिएको थियो। यादव नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका थिए।