काठमाडौं, मंसिर १८ :

काठमाडौँको रुद्रमती पुलनजिक धोबीखोला करिडोरमा बारम्बार र दुर्घटना हुनथालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरुले रेलिङ राख्न सुरु गरेका छन् ।

धोबीखोला करिडोरमा रेलिङ नहुदा रातको समयमा रुद्रमति पुलनजिक बारम्बार दुर्घटना भएको र अहिलेसम्म दुई जनाको मृत्यु समेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरुले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन् । 

पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयहरुले जनाएका छन् । बारम्वार दुर्घटना हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएपछि आफुहरु मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताए ।

बिहीबार बिहान रुद्रमति पुलनजिक धोबीखोला करिडोर एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए । उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ । यसअघि कार, ट्याक्सी, मोटसाइकल, पैदल यात्रु समेत खोलामा खसिसकेका छन् ।