
कांग्रेसभित्र विशेष महाधिवेशनका लागि पहल गरिरहेका नेताहरूले पार्टी नेतृत्वलाई नियतित महाधिवेशन पछि सार्ने कुनै पनि प्रयास नगर्न कडा चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित १५औँ महाधिवेशन तयारीसम्बन्धी अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन रोकिने संकेत देखा परे स्वाभाविक रूपमा विशेष महाधिवेशन अपरिहार्य हुने टिप्पणी गरे।
नेता गुरुराज घिमिरेले केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा फेरबदल गर्ने प्रवृत्ति देखिए पार्टी आन्तरिक दबाबकै कारण विशेष महाधिवेशनतर्फ धकेलिन सक्ने बताए। उनका अनुसार नेतृत्वले निर्वाचन अघि महाधिवेशन गर्न तयार देखिएको पनि उक्त दबाबकै परिणाम हो।
घिमिरेले बहुमतको बलमा आफूहरू महाधिवेशनका तयारीमा जुटिरहेको उल्लेख गर्दै आफ्नो समूहलाई कमजोर ठान्ने भूल नगर्न चेतावनी दिए।
उनले कसैले अवरोध खडा गर्ने प्रयास गरे एकताबद्ध रूपमा प्रतिवाद गर्ने दृढता व्यक्त गर्दै पार्टीभित्र अनुशासन र समयतालिका पालना गर्नुपर्नेमा जोडदिए।