
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी गरेका छन् ।
२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस-२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मेयर महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाभन्दा राम्रो काम गरेको समेत बताए ।
राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत मेयर महर्जनले उल्लेख गरे । सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले आभारसमेत व्यक्त गरे ।
कार्यक्रममा मेयर महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताए । जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमी हुन नदिने उनको भनाइ छ ।
स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।